Monday, December 3, 2007

भयाक्रान्ता

भनिन्छ जवानीमा कविता नलेख्ने अनि प्रेमी मन नहुने मान्छे भावनात्मक रूपमा मान्छे नै हैन रे ! सत्यता को कसिमा यो भनाइको औचित्यता कति हुने हो थाहा भएन । तर स्कूल पढ्दा मेरो नेपाली विषय पढाउने गुरूसंग भएको संस्कृतका वार्णिक र मात्रिक छन्दमा लेख्न, भन्न र गाउन सक्ने काव्यिक खूबी देखेर त्यही कुराबाट प्रभावित हुन जति प्रयत्न गरे पनि , गैर संस्कृत विषय क्षेत्रको पढाइको पृष्ठभूमिले गर्दा जति कोशिसका बाबजूद छन्दमा कविता लेख्ने महारथको नजिक पुग्न पनि सकिएन । गद्य कवितालाई कविता नै नमान्ने मूर्खता त म जस्तो अदानबाट हुन हुन्न तर गद्यमा लेखेर भूपि बन्न पनि त अर्को नेपालीले सकिरहेको छैन अद्यापि ! तर छन्द र गद्य दुबै तर्फ सलल कलम बग्न सकेन भने पनि त कविता रचनामा अपूर्ण नै भइन्छ नि । गद्य कविताको गेयताको पनि आफ्नै श्रेष्ठता छ र गद्य कविताको संसारमा भरमार अभ्यास कविहरूको शिवरात्रीको पूजामा पशुपतिनाथ दर्शन गर्न लागेका धर्मभिरूको जस्तो भीडको लाम देख्न सकिन्छ तर किन हो किन माधव घिमिरेमा नै नेपाली शास्त्रीय कविताको पाङ्ग्रो कर्णको रथ झैँ अति लामो समय सम्म अड्किइराख्यो कि जस्तो लाग्न थालेको छ मलाई त ।यसो मन्दाक्रान्ता छन्दको प्रयोग गरी नेपाली जनजीवनको पद्दति बनिसकेको 'भय' लाई तीन श्लोकमा पुङ न पुच्छरको प्रस्तुत अकविता मार्फत प्रकट गर्दै, छन्द , तिमीप्रति मेरो मनमा प्रशस्त अनुराग छ है भन्न खोजेको छु ।